चैत्र १३, २०७२- कथावस्तु र अभिनय अब्बल नहुँदा पनि जब हलमा दर्शकको ओइरो लाग्छ, फिल्मी भाषामा यसलाई स्टारडम भन्छन् । नपत्याए अनमोल केसीलाई हेर्दा हुन्छ । उनी अभिनीत ड्रिम्सले रिलिजको तेस्रो सातासम्म ७ करोड व्यापार गरेको छ ।
जबकि यसको कथा हलिउड फिल्म ‘इफ वन्ली’ बाट सापटी लिइएको हो । अनमोल स्वयम्को अभिनय पनि अपरिपक्व छ ।
तैपनि कसको के लाग्छ, दर्शकले रुचाइएपछि । अभिनयभन्दा अनुहार चलेको भन्या यही होला । खैर जे होस्, स्विकार्नुपर्ने तथ्यचाहिं के हो भने उनी ‘फेस भ्यालु’ भएका अग्रपंक्तिका हिरो हुन् ।
त्यसैले त निर्माता/निर्देशकदेखि हिरो हिरोइन सबै उनीसँग जोडिन लालायित देखिन्छन् । अझ हिरोइनको त उनी ड्रिम कोस्टार भइहाले । आकर्षणको केन्द्रमा रहेको अनमोलको रोजाइमा चाहिं कुन कलाकार र मेकर होलान् त ?
अचम्म लाग्न सक्छ, आर्यन सिग्देल मार्काका चकलेटी हिरोतिर अनमोलको दिलचस्पी छैन । उनीहरूका प्राय: फिल्म पनि हेर्दैनन् । उनका प्रिय अभिनेता त सौगात मल्ल पो रहेछन् । उनकै शब्दमा भन्दा सौगात ‘खतरा एक्टर’ हुन् । कबड्डी–कबड्डी हेरेपछि उनी सौगातको बिग फ्यान भएका रहेछन् ।
सुनाए, ‘कबड्डी कबड्डी मलाई दाल–भातजस्तै स्वादिलो लाग्यो, सौगात दाइको काम त झन् धेरै मन पर्यो ।’ उनलाई सौगातसँग काम गर्न मन छ, त्यो पनि नाटकमा हैन, फिल्ममै । मेथड एक्टर सौगात र गुड लुकिङ अनमोलको केमेस्ट्री कहिले हेर्न पाइएला त ?
अनमोललाई मन पर्ने हिरोइनको नाम त झन् अचम्मित तुल्याउने खालको छ । किनभने अनमोलको आँखामा नयाँ पुस्ताका हिरोइन वा मोडल छैनन्, उनी त रेखा थापाको पो त फ्यान हुन् । उनलाई रेखा ‘बोल्ड’ र ‘एक्स्ट्रा’ लाग्छ रे ।
‘उहाँको हिरो बन्न त के सुहाउला र ?’ उनी मुस्कुराए, ‘तर जुन पात्रका रूपमा भए पनि एकसाथ पर्दामा देखिने रहरचाहिं छ ।’ प्राय: आफूभन्दा कान्छा अभिनेतासँग पर्दामा देखिने रेखालाई कुनै दिन अनमोलसँगै देख्न पाइएला त ? उसो त अनमोल मेनुका प्रधानको अभिनय शैलीसँग पनि प्रभावित छन् ।
‘गाजलु’ मा सँगै काम गरेपछि रंगमञ्च हुँदै फिल्ममा उक्लेकी मेनुकाले अनमोलको मन जितेकी हुन् । यही फिल्ममा अनमोलले अर्की एक अभिनेत्रीसँग काम गर्ने उत्कट इच्छा पनि पूरा गरेका छन् । उनी हुन्, गौरी मल्ल ।
बाबु भुवन केसीको फिल्म हेर्दै हुर्किएका अनमोल गौरीको बच्चैदेखिका फ्यान हुन् । सन्तोष पन्त उनका मन पर्ने अर्का अभिनेता हुन् । उनीसँग काम गर्ने इच्छा चाँडै पूरा हुनेमा विश्वस्त छन् उनी ।
निर्देशकका विषयमा चाहिं अनमोल खासै खुल्न चाहेनन् । यद्यपि हेमराज बीसी उनका मन पर्ने र केमेस्ट्री मिल्ने निर्देशक हुन् भन्नेमा शंकै छैन । ‘होस्टेल’ र ‘जेरी’ पश्चात् ‘गाजलु’ मार्फत उनी हेमराजसँग ह्याट्रिक गर्दैछन् । भने, ‘हेमराज दाइसँग काम गर्दा सहज महसुस हुन्छ ।’
जादूगर, गायक र एथलेटिक्स खेलाडीको भूमिकामा पर्दामा देखिने रहर छ उनको । धेरैलाई थाहा नहुन सक्छ, स्कुल पढ्दाबाटै उनको आफ्नै ब्यान्ड छ । आफैं गितार बजाउँछन् । अहिले पनि समय मिल्यो कि समूहका सदस्य भेला भएर अभ्यास गरिहाल्छन् । त्यसैले उनले कुनै दिन आफ्नो फिल्मका लागि आफैंले गीत गाए भने अचम्म नमान्दा हुन्छ ।
अनमोलको पारिश्रमिक लिएर निकैथरीका हल्ला सुनिन्छ । ‘गाजलु’ का लागि आठ लाख लिएको र ‘ड्रिम्स’ पश्चात् २० लाखको अफर गर्न निर्माता उनकै घरमा पुगेको चर्चाले फिल्म बजार तातेको छ यति बेला । खासमा अनमोलको रेट कति हो त ?
हाँस्दै भने, ‘कथा र टिम मन पर्यो भने सित्तैमा पनि खेल्छु तर निर्माता मनी माइन्डेड रहेछ भनेचाहिं सक्दो ठटाउँछु ।’
प्रकाशित: चैत्र १३, २०७२