
खासामा अड्किएका कन्टेनर छाड्न चीन सकारात्मक
सिन्धुपाल्चोक: गत वर्ष वैशाख १२ मा गएको भूकम्पपछि खासा गोदाममा थन्किएका झण्डै चार सय कन्टेनर सामान छाड्न चिनियाँ पक्ष सकारात्मक भएको छ । भूकम्पका कारण खासा बजारमा क्षति पुगेको कारण देखाउँदै बन्द गरिएको तातोपानी नाका सुचारु गराउने विषयमा चासो नदेखाएको चिनियाँ पक्षले एक वर्षपछि गोदाममा थन्किएका सामान छाड्ने संकेत गरेको हो । तर पूर्णरूपमा नाका सञ्चालन गर्ने विषयमा चिनियाँ कुनै प्रतिक्रिया दिएको छैन ।
नाका सुचारु गराउनुको साटो रोकिएका सामान मात्र छाड्ने जानकारी पाएपछि नेपाली व्यवसायी सशंकित बनेका छन् । खासामा भएको सामान मात्र छाडेर नाका पूर्णरूपमा सुचारु गर्न नमान्नु नाका बन्द गराउने रणनीति हो की भन्ने शंका उब्जाएको नेपाल हिमालय सीमापार वाणिज्य संघका पदाधिकारीले बताए ।
सोमबार नै खासाका सामान पठाउने खबर आए पनि एक पटक निरीक्षण गरेर मात्र रोकिएका सामान ल्याउने व्यवसायीको भनाइ छ । सामान निरीक्षण र नाका सञ्चालन सम्बन्धी छलफल गर्न सोमबार सीमापारको टोली खासा जाने भएको छ । नाका सञ्चालनको माग गर्दै स्थानीय र व्यवसायीको टोलीले शनिबार सीमा क्षेत्रमा प्रदर्शन समेत गरेका थिए ।
नाका सुचारु नहुँदा ठूला व्यवसायी मात्र हैन, झोले पोके व्यापारी भनेर चिनिने साना व्यवसायी पनि मारमा परेका छन् । भूकम्प अघिसम्म झोलामा सामान ओसारेर दैनिक दुई हजारभन्दा बढी आम्दानी गर्दै आएकी लिस्तीकी साङ्मु शेर्पा अहिले परिवारको दैनिक छाक टार्ने तनावमा छिन् । भूकम्पअघि दैनिक खुद्रा चिनियाँ सामान ल्याएर सीमा क्षेत्र र राजमार्गमा बेचेर परिवार पाल्दै आएकी उनको भूकम्पपछि रोजीरोटीको खोसिएको छ ।
सीमाको लिपिङ बजारमा सेल्सम्यानको काम गर्दै आएकी फुर्बुटी लामा पनि अहिले कामको खोजीमा राजधानी गएकी छिन् । लिपिङ बजारको चिनियाँ बजारमा नेपाली ग्राहकलाई सहजीकरण गर्दै आएकी लामाको भूकम्पसँगै रोजगारी पनि खोसिएपछि विकल्प खोज्न राजधानी पुगेको बताउँछिन् । यी प्रतिनिधि उदाहरण मात्र हुन् ।
वैशाख १२ पछि तातोपानी नाका पूर्णरूपमा बन्द हुँदा ठूला साना व्यवसायी, मजदुर र अन्य समेत गरी तीन हजार भन्दा बढी प्रत्यक्ष समस्यामा परेका छन् । व्यवसायी, स्थानीय र भन्सारले नाका खुलाउन सबै निकायमा पहल गरे पनि नेपाल चीन जोड्ने छोटो र सजिलो तातोपानी नाकाको भविश्य अन्योलमा छ ।
चीन सरकारले रसुवागढी नाकालाई प्राथमिकतामा राखेपछि प्रत्यक्ष रूपमा तीन हजार भन्दा बढीलाई रोजगारी दिँदै आएको नाका झण्डै एक वर्षदेखि सञ्चालनमा आउन नसकेको हो । वैशाख १२ को भूकम्पले सीमावर्ती क्षेत्रमा असर पुर्याएपछि बन्द नाका खुलाउन चिनियाँ पक्षले दिएको आश्वासन वर्ष दिन बित्न लाग्दा पनि पूरा भएको छैन । नेपालतर्फका भन्सार र अन्य संरचना कारोबार गर्न तयारी हालतमा रहेपनि चीन सरकारको उदासीनताका कारण नाका अझै सुचारु हुन नसकेको हो ।
नेपाली व्यवसायीले धेरै पहल गर्दा पनि नाका सुचारु हुन सकेको छैन । चिनियाँ अधिकारीले खासामा रहेका संरचनामा क्षति पुगेको भन्दै नाका सञ्चालनमा ल्याउन चासो नदिँदा व्यवसायी मारमा परेका छन् । ‘पटकपटक प्रयास गर्दा पनि नाका सञ्चालन हुन सकेको छैन', सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठ भन्छन्, ‘हामीले यहाँका कुनै पनि निकायमा ज्ञापनपत्र बुझाउन बाँकी राखेका छैनौं, चिनियाँ र नेपाली दुवै पक्षले कुटनीतिक पहल नगर्दा नाका सञ्चालन हुन सकेको छैन ।'
नाका सञ्चालनको माग गर्दै स्थानीय र व्यवसायीको टोलीले शनिबार सीमा क्षेत्रमा प्रदर्शन समेत गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले केही निकास दिने आशा गरेका व्यवसायी र तातोपानीका बासिन्दा भ्रमणपछि पुनः निरास बनेका छन् । तीनहजार भन्दा बढीको रोजीरोटी खोसिँदा पनि सरकारको ध्यान नपुगेकोमा तातोपानीबासी आक्रोशित छन् ।
तातोपानी नाकाबाट झण्डै दुई सय समूहमा व्यवसायी कारोबार गर्थे । प्रत्येक समूहमा कम्तीमा १० जनाले रोजगारी पाएका थिए । नाका सञ्चालन नहुँदा दुई हजार भन्दा बढी गैर व्यवसायी जनशक्ति बेरोजगार भएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका मानार्थ उपाध्यक्ष दोर्जे लामाले बताए । व्यवसायमा संलग्न र मजदुर तीन हजार तथा रोजगारी पाएका दुई हजार गरी पाँच हजार जनशक्तिले नाका बन्दको मार झेलिरहेको छ ।
तातोपानी भन्सारले कारोबार गर्न सक्ने गरी पूर्वाधार निर्माण गरिसकेको छ । प्रमुख भन्सार अधिकृत दिव्यराज पोखरेल आफू जुनसुकै बेला कारोबार गर्न तयार रहेका बताउँछन् । उनले खासामा समस्या भए पनि चीनले चाहे नेपालबाट सिल गरेर काम गर्न सकिने बताए ।
अर्थ र परराष्ट्र मन्त्रालयले पहल गरी नाका छिटो सञ्चालनमा ल्याउन चीन सरकारलाई झक्झक्याउनुपर्ने व्यवसायी बुद्धराज बस्नेतको भनाइ छ । सरकारले विकल्पका रूपमा प्रयोग गर्न खोजेको रसुवागढी नाका भौगोलिक रूपमा तातोपानीभन्दा असहज रहेको व्यवसायीको दाबी छ । चीन सरकारकै सहयोगमा तातोपानीमा एक अर्ब रुपैयाँको लागतमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ । भूकम्पअघि नै ८० प्रतिशतभन्दा बढी भइसकेको बन्दरगाह निर्माणको काम समेत पछिल्लो समय सुस्ताएको छ ।
नेपाल–चीन भन्सार विभागस्तरीय बैठकबाट तातोपानी नाका छिटै सुचारु गर्ने सहमति भए पनि अझै त्यसतर्फ पहल नहुँदा नाका सञ्चालनमा नआउँदा व्यवसायी र उपभोक्ता मारमा परेका छन् ।
No comments:
Post a Comment