Monday, May 2, 2016

‘नेपालबाट अरू देशले सिक्नुपर्छ'

वैशाख १९, २०७३- भूकम्पपछिको पुनर्निर्माण, मानवीय अवस्था र राजनीतिक अवस्थाबारे प्रत्यक्ष जानकारी लिन काठमाडौं आएका राष्ट्रसंघका नायब महासचिव जान इलिएसनले नेपालबाट विश्वले धेरै सिक्न सक्ने बताएका छन् ।

उनले महाभूकम्पपछिको अवस्थामा पनि शान्ति प्रक्रिया व्यवस्थापनका लागि संविधान जारी गर्दै, विध्वंसको व्यवस्थापन गर्ने कार्य सराहनीय रहेको उल्लेख गरेका छन् ।

राष्ट्रसंघमा महासचिवपछि दोस्रो नम्बरमा रहेका जानले नेपालको शान्तिप्रक्रिया, संविधान जारी र महाभूकम्पको समयमा देखाएको धैर्यताको खुलेर प्रशंसा गरे ।

तीन दिने भ्रमणका लागि काठमाडौं आउनेबित्तिकै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँगको भेटवार्ताका क्रममा उनले नेपालको पछिल्लो अवस्था विश्वलाई नै उदाहरण दिन योग्य रहेको बताए ।

नेपालबाट विश्वले सिक्नुपर्ने अवस्था रहेको भन्दै राष्ट्रसंघीय सम्मेलनहरूमा नेपालको तर्फबाट उच्चस्तरकै उपस्थितिका लागि समेत उनले सुझाएका छन् ।

नेपालको अन्य समस्या पनि विस्तारै सम्बोधन गर्दै संविधानलाई पूर्ण कार्यान्वयन गर्न शुभकामना दिँदै उनले दलहरूबीचको राजनीतिक सहकार्य र संवादको शैलीको समेत प्रशंसा गरेको अधिकारीहरूले बताए ।

राष्ट्रसंघले नेपालको शान्ति प्रक्रियादेखि संविधान निर्माणसम्म सहयोगी भूमिका निर्वाह गर्दै आएको थियो । नेपालले विश्व शान्तिका लागि शान्ति सेनाको तर्फबाट निर्वाह गरेको भूमिकाप्रति पनि जानले खुसी व्यक्त गरेका थिए ।

टर्कीको स्तनबुलमा आगामी महिना राष्ट्रसंघले गर्ने विश्व मानवीय सम्मेलनमा उच्चस्तरको उपस्थितिका लागि पहल गर्न र भूकम्पपछिका पुनर्निर्माणबारे जानकारी लिने उनको नेपाल भ्रमणको मुख्य उद्देश्य हो । उपप्रधानमन्त्री थापासँगको भेटमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्नुका साथै पुनर्निर्माणमा चासो व्यक्त गरेका थिए । थापाले पुनर्निर्माणको काम अघि बढेको जानकारी गराएका थिए ।

भेटवार्ताबारे परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुईपक्षीय हित, नेपालको राजनीतिक अवस्था, आगामी मानवीय सम्मेलन, भूकम्पपछिको पुनर्निर्माणको कार्य लगायतमा छलफल भएको बताएको छ ।

नायब महासचिव इलिएसन आइतबार पुनर्निर्माणबारे स्थलगत अवलोकन गर्न सिन्धुपाल्चोक जानेछन् । उनले त्यहाँ अन्तर्राष्ट्रिय सहयोग र नेपाल सरकारले अघि बढाएको कामबारे जानकारी लिनेछन् ।

फर्कनुअघि सोमबार प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रसंघका महासचिव मुनले नेपालको अवस्था बुझ्न उच्चस्तरका व्यक्तिलाई पठाएका हुन् ।

राष्ट्रसंघमा अल्पविकसित मुलुक हेर्ने जिम्मेवारी पाएका अर्का उपमहासचिव ज्ञानचन्द्र आचार्य पनि काठमाडौंमै छन् । उनी व्यक्तिगत कामका लागि काठमाडौं आए पनि सबै पक्षसँग भेटघाटमा छन् ।

यसअघि आचार्यकै स्तरका राजनीतिक मामिला हेर्ने उपमहासचिव जेम्स फेल्टम्यानले पटक–पटक नेपाल भ्रमण गरेका थिए । अहिले नायब महासचिव स्तरमा भएको भ्रमणले प्रधानमन्त्री ओलीको टर्की भ्रमणलाई बाटोसमेत खुलेको छ ।

No comments:

Post a Comment